भारतीय नाकाबन्दीका कारण इन्धन संकट बढेपछि विभिन्न विकल्पहरुको खोजी भइरहँदा चीन सरकारले ब्याट्रीबाट चल्ने ठूला बसहरु अनुदानमा दिन लागेको हाे ।
चीन सरकारले नेपाललाई अनुदानमा २० वटा विद्युतीय बस दिन लागेको हो । स्थानीय विकास मन्त्रालयमार्फत चीनले काठमाडौं महानगरलाई ती बसहरु हस्तान्तरण गर्ने महानगरले जनाएको छ । महानगरले भने साझा यातायातसँगको समन्वयमा ती बसहरु काठमाडौंमा सञ्चालन गर्नेछ ।
चीनले दिने अत्याधुनिक ठूला इलेक्ट्रिक बसहरु साझा यातायातकै रुपमा सञ्चालन गरिने महानगरले जनाएको छ । अनुदानको बस प्राप्त भएपछि महानगरले केही इलेक्ट्रिक बसहरु किन्ने बताएको छ । यसभन्दा अघि काठमाडौं विद्युतीय ट्रली बसहरु सञ्चालनमा थिए । चीनले दिएका ती ट्रली वसहरु कर्मचारीको लापर्बाहीका कारण बन्द भएको थियो ।
अहिले राजधानीमा ब्याट्रीबाट चल्ने सीमित सफा ट्याम्पोमात्रै सञ्चालनमा छन् । राजधानी बाहिर भने भारतको नाकाबन्दीपछि इलेक्ट्रिक रिक्सा चल्न थालेका छन् ।
काठमाडौं महानगरपालिकाले यसअघि राजधानीमा रात्री बस सञ्चालन गरे पनि नियमित सञ्चालन हुन सकेन । महानगरले अनुदान नदिएको भन्दै यातायात महासंघले रात्री सेवा हटाएको थियो ।
No comments:
Post a Comment